skip to Main Content
कोरोना संकटमा सहयोग गर्न एनआरएन यूकेले कोष संकलन गर्ने

लण्डन । बेलायतमा कोरोना भाइरस संक्रमणका कारण उत्पन्न समस्यामा पर्ने नेपालीहरुको सहयोगका लागि एनआरएनए यूकेले कोष संकलन गर्ने भएको छ ।

सहयोगका लागि यसअघि नै विशेष कार्यदल गठन गरिसकेको एनआरएनए यूकेले आर्थिक संकलनको कार्य सुरु गर्ने निर्णय गरेको छ ।

बुधबार साँझ भिडियो कन्फरेन्समार्फत सम्पन्न एनआरएनए यूकेका पदाधिकारीहरुको बैठकले आर्थिक संकलनको संयोजन गर्ने जिम्मा इंग्ल्याण्ड राज्य समन्वय परिषदका अध्यक्ष दिपक श्रेष्ठलाई लगाएको छ ।
आर्थिक संकलन समितिमा बाँकी तीन वटै वटा राज्य समन्वय परिषदका अध्यक्षहरु र चार वटै परिषदका सचिवहरु सदस्य रहनेछन् ।

यसअघि नै एनआरएनए यूकेले कोरोनाभाइरसको कारण समस्यामा पर्नेहरुलाई सहयोग गर्न अध्यक्ष पुनम गुरुङको नेतृत्वमा महासचिव फडिन्द्र भट्टराई र कार्यसमिति सदस्य डा सुनिल शाह रहेको स्टेरिंग कमिटी गठन गरेको छ । त्यस्तै, कार्यसमितिका उपाध्यक्षहरुलाई विद्यार्थी र भूपू गोर्खाका साथै राज्यगत रुपमा समेत हेर्ने गरी छुट्टाछुट्टै संयोजनको जिम्मेवारी लगाएको छ ।

सोहि स्टेरिंग कमिटी र उपाध्यक्षहरुको मातहतमा रहने गरी आर्थिक संकलन समितिले कोष संकलन अभियान सञ्चालन गर्नेछ । बेलायतभरबाट केन्द्रिकृत रुपमा आर्थिक कोष संकलन गर्ने र आवश्यकताको पहिचान गरी क्षेत्रगत रुपमा सहयोग वितरण गर्ने योजना एनआरएनए यूकेको छ । आर्थिक समितिबाट कोष संकलन गरिनेछ भने आवश्यकताको पहिचान र वितरणको कार्य स्टेरिंग कमिटीकै नेतृत्वमा गरिनेछ ।

बैठकले यसअघि नै सुरु भएको हेल्पलाइनलाई सेवाग्राहीको पहुँच बढाउने उद्धेश्यले बिस्तार गर्ने निर्णय गरेको छ ।
त्यसैगरी एनआरएनए यूकेको संयोजनमा बेलायतको सिंगो समुदायको सहभागिता रहनेगरी एक उच्चस्तरीय सहयोग समिति गठन गरिने भएको छ । जसमा कार्यसमितिका पदाधिकारी, राज्य परिषदका पदाधिकारी, आइसिसी सदस्यहरु, एनआरएनए अभियन्ताहरुको साथै बेलायतका विभिन्न क्षेत्र, पेशा, संघसंस्था र समुदायमा आबद्ध अगुवाहरुको प्रतिनिधित्व गराइनेछ ।
बैठकले आउँदोे शनिबार दिउँसो २ बजे कार्यसमितिको पुर्ण बैठक ( टेलिफोन कन्फरेन्स) बोलाउने निर्णय पनि गरेको छ ।

यसअघि एनआरएनए यूकेका पदाधिकारीहरुसंगको छलफलमा अतिथिका रुपमा बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी, उपनियोग प्रमुख शरदराज आरन, सोलिसिटर राजु थापा, प्राध्यापक डा पदम सिम्खडा, नेप्लिज डक्टर्स एशोसिएसन यूकेका उपाध्यक्ष डा कमल अर्याल, नर्सिंग एशोसिएसन यूके अध्यक्ष विनोदविकास सिम्खडा, मर्जिंग नेपसक्सका अध्यक्ष पवन कँडेल र उपाध्यक्ष विष्णु गैरे लगायत सहभागी भएका थिए ।
त्यसअवसरमा राजदूत डा सुवेदीले कोराना संकटका कारण प्रभावित नेपालीहरुको सहयोगका लागि एनआरएन यूकेले हेल्पलाइन नै स्थापना गरेर सहयोग अभियान सुरु गरेकोमा प्रशंसा गरेका थिए ।
दूतावासले समेत समुदायको प्रतिनिधिमुलक सहभागितामा सहयोग तथा समन्वय समिति गठन गरेको जानकारी गराउँदै उनले दूतावास, एनआरएनए र अरु सबै संघसंस्था मिलेर सहयोगमा जुट्नुपर्ने धारणा राखेका थिए ।

छलफलमा प्राध्यापक डा पदम सिम्खडाले बेलायतमा नेपाली विद्यार्थीहरुको अहिलेको समस्या अहिले सामाजिक सञ्जालमा अतिरञ्जित गरिएजस्तै ठूलो भइनसकेको बताएका थिए । विश्वविद्यालयहरुले अन्तर्राष्ट्रिय विद्यार्थीको सहयोगका लागि हेल्प डेस्कहरु सञ्चालनमा ल्याएकोे जानकरी दिंदै उनले समस्यामा पर्ने नेपाली विद्यार्थीले पनि सुरुमा विश्वविद्यालयमै सम्पर्क गर्नुपर्ने सुझाव दिएका थिए ।
त्यस्तै, सोलिसिटर राजु थापाले नेपाल गएका भूपू गोर्खाहरुको पेन्सन क्रेडिट, भिजिट भिसामा आएका नेपालीहरुको भिसा लगायतका कानुनी समस्याहरुमा अहिलेको अपवादजनक परिस्थितिलाई ध्यानमा राखेर सरकारले विशेष व्यवस्था गर्ने जानकारी दिए ।
मर्जिंग नेपसक्सका अध्यक्ष पवन कँडेल र उपाध्यक्ष विष्णु गैरेले आफुहरुको संस्थाबाट बेलायतमा समस्यामा पर्न सक्ने नेपाली विद्यार्थीहरुको तथ्यांक संकलन भइरहेको जानकारी गराएका थिए ।

त्यसअवसरमा एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले समस्यामा पर्ने नेपालीहरुको सहयोगका लागि हरसम्भव कोशिस गरिने बताइन् । लण्डनस्थित नेपाली दूतावास तथा यहाँस्थित अन्य नेपाली संघसंस्था र समुदायसंग समेत समन्वय र सहकार्य गर्दैै एनआरएनए यूकेले समस्यालाई प्रभावकारी ढंगले सम्बोधन गर्न खोजेको उनको भनाइ थियो ।
उपाध्यक्षहरु सुनिलबाबु खड्का, रोजिना प्रधान राई, नारायण कँडेल, मोहन कार्की र रामचन्द्र पोखरेल, हेल्पलाइन संयोजक एवम् सचिव कृष्ण ढकाल, सचिव जित रानाभाट, महिला संयोजक प्रसुना कँडेल लगायतले आआफ्नो संयोजनमा भइरहेका सहयोगका तयारीहरुबारे जानकारी गराए । स्वास्थ्य विभागका संयोजक डा सुनिल शाहले समुदायमा सचेतना जगाउने उद्धेश्यले एनएचएसले जारी गरेका सबै सुचनाहरुलाई नेपालीमा पनि सम्प्रेषण गर्ने तयारी भइरहेको बताए ।

अंग्रेजीमा जारी एनएचएसका सुचनाहरुलाई नेपालीमा अनुवाद गर्ने कार्य विधान तथा कानुन विभागका संयोजक समेत रहेका उपाध्यक्ष नारायण कँडेलले गर्दैछन् ।

error: Content is protected !!
Back To Top