skip to Main Content
एनआरएनए यूके महिला फोरमले अन्तर्राष्ट्रिय नारी दिवस मनायो,

लण्डन । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके महिला फोरमले आइतबार पश्चिम लन्डनमा एक कार्यक्रम गरेको छ । ‘महिला सशक्तिकरण’ केन्द्रित उक्त कार्यक्रममा लन्डन स्कुल अफ इकोनोमिक्सकी भिजिटिङ फेलो डा. पुनम यादवले घुम्टो हालेर हिड्ने तराई मधेशका महिलाहरु अहिले सेना तथा प्रहरीमा भर्ति भैरहेको र समाजले पनि त्यसलाई स्वीकार गरेको बताइन् । उनले धेरैजसो स्थानीय निकायमा उपाध्यक्ष वा उपप्रमुख महिला भए पनि उनीहरुले आफ्नो ठाउँबाट सकारात्मक योगदान गरिरहेको बताइन् । हाल लिबियामा कार्यरत समाजशास्त्री डा. मीना पौडेलले नेपाली समुदाय तथा परिवारले विदेश गएर महिलाले कमाएर पठाएको पैसा स्वीकार गरेको तर महिलालाई भने स्वीकार नगरेको बताइन् । उनले बजार र मिडियाले महिलालाई हेर्ने दृष्टिकोण निर्माण गरिरहेको बताउंदै कानूनले भन्दा पनि संस्कारले समाज र परिवारमा महिलाको स्थान निर्धारण गरेको बताइन् । कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएन युकेकी अध्यक्ष पूनम गुरुङले अन्तर्राष्ट्रिय महिला दिवस सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्रमा महिलाहरुले प्राप्त गरेका उपलब्धिहरु पहिचान गर्ने तथा गर्व गर्ने अवसर भएको बताइन् । उनले एनआरएनए युकेको पहिलो महिला अध्यक्षको रुपमा महिला समानताको क्षेत्रमा काम गर्न आफू प्रतिबद्ध रहेको पनि बताइन् । ‘हाम्रो प्रयास आजै सकिदैन, वर्ष भरि नै जारी रहनुपर्छ’- उनले भनिन् । कार्यक्रमका प्रमुख अतिथि तथा लन्डनस्थित नेपाली दूतावासका द्वितीय सचिव लव सुवेदीले प्रत्येक दिनलाई महिला दिवसको रुपमा मनाउन सुझाव दिए ।

‘हिजो हाम्रा आमा, हजुरआमाहरुले कसरी जीवन व्यतित गर्नु भएको थियो, आज हामी कुन अवस्थामा छौं र भावी पुस्तालाई भेदभावमुक्त समाज हस्तान्तरण गर्न के गर्नुपर्छ भन्नेबारे हामी सचेत रहनुपर्छ’- उनले भने । सुवेदीले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सबै दिदी बहिनीलाई बधाई पनि दिए । कार्यक्रममा लिभरपूल जोन मुर्स विश्वविद्यालयकी सह-प्राध्यापक डा सारा पार्कर तथा सिवानी घलेले प्रश्तुति गरेका थिए । त्यस्तै गत वर्ष काठमाडौँमा सम्पन्न दक्षिण एसियाली खेलमा पौडीमा चार ओटा स्वर्ण पदक जित्न सफल खेलाडी गौरिका सिंहले सबै महिलालाई सम्मान गर्न आग्रह गरिन् । ‘फेमिनिज्म भनेको महिला तथा पुरुषबीच समानता हो, पुरुषलाई अवहेलना गर्नु होइन । हामी सबैको अधिकार समान छ, हामीहरुले एक अर्कालाई सम्मान गर्नुपर्छ’- उनले भनिन् । उनले कोरोना भाइरसका कारण हात मिलाउनुको सट्टा नमस्कार गर्न पनि आग्रह गरिन् । सम्पूर्ण कार्यक्रम संयोजन एनआरएन युके महिला फोरमकी संयोजक प्रसुना कंडेलले गरेकी थिइन् । कार्यक्रममा गैरआवासीय नेपाली संघ युरोप सह-संयोजक कृष्ण तिमल्सेना, आइसीसी सदस्यहरु रामशरण सिम्खडा, सुशीला राई, योगकुमार फगामी, लिलादेवी गुरुङ, एनआरएन युके महासचिव फडिन्द्र भट्टराई, एनआरएन अग्रज योगेन क्षेत्री, व्यवसायी लगायतको उपस्थिति थियो । कार्यक्रम सन्चालन लारा राई तथा ‘प्यानल डिसकसन’ को मध्यस्तता विमला सेने र प्रसुना कंडेलले गरेका थिए । निशा गुरुङले प्रमुख बक्ताहरुको परिचय दिएकी थिइन् । सो अवसरमा महिला हिंसाबारे अमृता गिरी गजुरेल, सुश्मिता थापा र बन्दना केसीले नाट्य प्रस्तुति दिए ।

error: Content is protected !!
Back To Top