skip to Main Content
एनआरएन यूकेको अर्को सफलता, सुरु गर्‍यो अनलाइन सदस्यता वितरण अभियान

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले अबदेखि संस्थाको सदस्यता अनलाइनबाटै वितरण गर्ने भएको छ । आइतबार लण्डनमा एक कार्यक्रम गरि अनलाइन सदस्यता वितरणको औपचारिक शुभारम्भ गरिएको हो

एनआरएनए यूकेलाई डिजिटल बनाउने अभियानको पहिलो चरणमा सदस्यता वितरण सुरु गरिएको बताइएको छ । भविष्यमा अनलाइन मतदानसहितका अन्य कार्यक्रमहरु पनि थप गर्दै जाने योजना समेत सार्वजनिक गरिएको छ ।

कार्यक्रममा एनआरएनए यूके उपमहासचिव तथा अनलाइन सदस्यता वितरण कार्यक्रमका संयोजक विनय अधिकारीले अनलाइनबाट सदस्यताको फारम बुझाउने विधि र प्रक्रियाहरुबारे भिडियो तथा पावरपोइन्ट प्रिजेन्टेसन प्रस्तुत गरेका थिए ।

अनलाइन सिस्टमले सदस्यता आवेदन ब्यवस्थापन देखि स्वीकृति र परिचयपत्र वितरण लगायतका कार्यहरु सहज र छरितो बन्ने विश्वास अधिकारीको छ

अब एनआरएनए यूकेको सदस्यता लिनका लागि संस्थाको वेबसाइटमार्फत अनलाइन फारम भरेर शुल्क बुझाउन सकिनेछ । सदस्यता शुल्क बुझाउन डेबिट, क्रेडिट कार्डको साथै पेपालको प्रयोग गर्न सकिने सुविधा पनि उपलब्ध गराइएको छ ।

एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीले अनलाइनबाट छिटो छरितो र सहज ढंगले सस्तो शुल्कमा सदस्यता पाउन सम्भव बनेकाले अब सदस्यहरुको संख्या समेत बृद्धि हुने आशा व्यक्त गरे ।

नयां व्यवस्थाअन्तर्गत एनआरएन यूकेका सदस्यहरुको परिचयपत्र बेलायतबाटै जारी हुने भएकोले विगतमा आइसिसीबाटै सदस्यता कार्डहरु जारी हुने क्रममा देखिएका समस्याहरुको पनि हल हुने अपेक्षा छ ।

अनलाइन सदस्यता वितरण सुरु गरिएपनि यसअघिजस्तै कागजी आवेदनहरु पनि लिइने जनाइएको छ ।

अनलाइन सदस्यता वितरणको औपचारिक शुभारम्भ कार्यक्रममा एनआरएन यूकेका उपाध्यक्ष शेरबहादुर सुनार, प्रवक्ता रमेश सरांगकोटी, कोषाध्यक्ष सचिन श्रेष्ठ लगायतले पनि नयां व्यवस्थाबारे विभिन्न जानकारी गराएका थिए

error: Content is protected !!
Back To Top