skip to Main Content
फर्केर हेर्दा एनआरएनए यूकेका एक वर्ष

गैरआवासीय नेपाली संघ बेलायतको नवौं कार्यसमितिले आफ्नो कार्यभार सम्हालेको एक वर्ष पुगेको छ । यो समयको दौरानमा हामीले के कति कार्यहरु गर्न सक्यौं अथवा कुन हदसम्म हाम्रो जिम्मेवारी वहन गर्न सक्यौं वा सकेनौं भन्ने समिक्षा हामी स्वयंले गर्ने भन्दा पनि आम बेलायतवासी नेपालीहरुले नै यसको मुल्यांकन गर्नु सान्दर्भिक रहन्छ । एनआरएनए यूकेले यो वर्षभरीको गतिविधीहरुको फेहरिस्तलाई एउटा दस्तावेजको रुपमा प्रकाशन गर्ने तयारी समेत गरेकोले आजको आलेखमा सबै गतिविधीहरु समावेश गर्ने भन्दा पनि एउटा संक्षिप्त दृष्टीकोण मात्र प्रस्तुत गर्ने कोशिश गरेको छु ।

निर्वाचनताका सृजना भएको विषम परिस्थिति र तत्पश्चातको विभक्त समाज, आर्थिक जिर्णता जस्ता कुराहरुको भुँमरीबाट निकै ठूलो दायित्व र चुनौतीको सामना गर्दै उदाएको नवौं कार्यसमितीको तत्कालिन अवस्थालाई धेरै चित्रण गरिरहनु नपर्ला । यस्तो चुनौतिको बीचमा कार्यभार सम्हालेको कार्यसमितिलाई बेलायतका विभिन्न संघ संस्था एनआरएनएआबद्ध अग्रज अगुवा, समाजसेवी, पत्रकार तथा बेलायतको नेपाली समग्र नेपाली समाजको सहयोग र उत्प्रेरणा हाम्रो लागि निकै हौसला प्रदान गर्ने खालको रह्यो । जसको लागि संस्थागत र व्यक्तिगत दुवै तवरबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु । तपाईहरुको सल्लाह,सुझाव र सहकार्य बिना हाम्रो लागि आजसम्मका दिनहरु कष्टपूर्ण बन्ने कुरामा दुईमत हुन सक्दैन ।

संगठनको जिम्मेवारी सम्हालेपछिका नियमित कार्यभारहरु पूरा गर्दा नगर्दै यो संसारले कल्पना नगरेको महामारीको विषम परिस्थितिको सामाना गर्नुपर्ने अवस्था आइलाग्यो । अरु सबै क्रियाकलापहरुलाई थाँती राखेर कोभिड-१९ संगको लडाईमा समग्र समुदाय र देशको साथमा उभिनु हाम्रो कर्तव्य थियो । सोही बमोजिम सिंगो कार्यसमिति एक ढिक्का एक ठाउँमा उभिएर विभिन्न जिम्मेवारीको बांडफांड गर्दै हामी मैदानमा उत्रियौं । यसको लागि एनआरएनए यूके मातहतका राज्य समन्वय परिषदहरु देखि विभिन्न विभाग र तहका निकायहरु सक्रिय र निस्वार्थ रुपमा समर्पित भएर लाग्नुभयो । विश्व आक्रान्त बनाएको यस्तो महामारीमा सिंगो समुदाय एक ठाउँमा उभिएर यसको सामना गर्न सकेको कुरामा हामी सबैले गर्व गर्नु पर्दछ ।

आर्थिक हिसाबले सहयोग संकलनका अलावा अरु कुनै स्रोतविहिन रहेको संस्थामा विभिन्न संघ संस्था र व्यक्तिहरुको एनआरएनए प्रतिको विश्वास र सहयोगलाई दोहोर्याएर धन्यवाद दिंदा पनि अपुग हुन्छ भन्ने मेरो बुझाई हो । सन्तोषप्रद रुपमा बेलायतवासी नेपालीहरुकै सहयोगमा दुख र अप्ठ्यारोमा परेका हाम्रा दाजुभाई दिदीबहिनीहरुको घाउमा थोरै भए पनि मलम पट्टी गर्न सकियो । चाहे त्यो महामारीको विषम अवस्थाको भयमा आर्थिक सहयोगको याचना गर्ने विद्यार्थी तथा अशक्तहरुलाई सहयोग गर्ने सवाल होस् अथवा ढाडस,हौसला र स्वास्थ्य परामर्शको हिसाबले पीडितहरु समक्ष पुग्ने सवालमा होस्, हाम्रो स्वास्थ्य विभाग र हेल्पलाईनको पहुँचमा आवश्यक पर्नेहरुलाई पुर्याउन सक्नुले पनि धेरै सुखानुभूति बनाएको हो । हामीले संचालन गरेको प्रत्यक्ष लाईभ कार्यक्रम मार्फत समस्यामा हुनेहरुले लाभ लिन सक्नु भएको थियो । बेलायतमा मृतकका परिवारसम्म पुगेर समवेदना प्रकट गर्नेदेखि याचना भएको अवस्थामा आर्थिक सहयोग पुर्याउने काम सम्म एनआरएन यूकेले यथाशक्य रुपमा गरेको तथ्यलाई पनि उल्लेख गर्नुपर्ने हुन्छ ।

तत्कालिन अवस्थामा हामीलाई यहाँको भन्दा ठूलो त्रास मातृभूमि नेपालमा आउन सक्ने भयावह स्थितिको थियो । देश रुँदा हामी हाँसेर हिड्न सक्दैनौं भन्ने भावाना सबै प्रवासी नेपालीहरु हो । आंकलन गरे बमोजिम नेपाल कोभिड -१९ को उच्चतम विन्दुमा पुग्दै गर्दा सातै प्रदेशमा पुग्ने गरेर अक्सिजन मेशिन प्रदान गर्ने हाम्रो निर्णयको औचित्य अहिले पुष्टी भइरहेको छ । बेलायतवासी नेपालीहरुको सहयोगमा कमसेकम कही कतै कसैले आफ्नो प्राण धान्ने श्वासको रुपमा अक्सिजन र मेशिन मार्फत उपयोग गरिरहेको कुराले हामी सबैलाई सन्तोष अवश्य प्रदान गर्नेछ ।

कोभिड -१९ को सहयोग अभियानमा हामीले गरेको सहयोग र गतिविधीको अभिलेखीकरण लाई प्रकाशोन्मुख अवस्थामा रहेको जानकारी गराइसकेको हुनाले यसको फेहरिस्तलाई यो आलेखमा लामो बनाउन गइरहेको छैन । कार्यसमितिका साथीहरु अथवा समुदायका व्यक्तिहरुको नाम उल्लेख गर्ने भन्दा पनि सिंगो एनआरएनए र समग्र समुदाय यसमा गौरवान्वित रहनुपर्दछ भन्ने मेरो मान्यता हो । जेजति गर्न सकिएको छ वा छैन त्यो तपाईहरु माझ आफै छर्लंग भएको विषय भएकोले पनि यस सम्बन्धमा धेरै उल्लेख गर्नु नपर्ला ।

नगारिकता निरन्तरताको सवालमा गत अक्टुवरमा काठमाडौं रहंदा राज्य व्यवस्था समितिदेखि मन्त्री, प्रधानमन्त्री तह सम्म एनआरएनए यूकेले गरेको लबिङ यहांहरुको जानकारी भएकै विषय हो । पहिलो औपचारिक र सार्वजनिक कार्यक्रमको रुपमा पर्यटन मन्त्रीकै उपस्थितिमा बेलायतमा चलाइएको बहस पनि उपलब्धिपूर्ण नै रहेको थियो । ऐतिहासिक र पृथक रुपमा आयोजित स्थापना दिवस र महिला दिवस कार्यक्रमको समापनसंगै कोभिड -१९ शुरु भएपछि हाम्रो यात्राको दिशा स्वभावत परिवर्तन हुनुपर्ने नै थियो । मैले यो भनिरहँदा कोभिड -१९ कारणले हामीले काम गर्न पाएनौ भन्ने कदापी होईन हामीले यसलाई नै हाम्रो कर्तब्य र अवसरको रुपमा परिणत गर्नु हाम्रो दायित्व थियो र हामीले त्यही गर्यौं ।

कोभिड -१९ कै बीचमा पनि प्रविधीको प्रयोग गर्दै दिनहुँ जसो पदाधिकारी बैठक दर्जनौ कार्यसमिति बैठकहरु संचालन गर्दै दैनिक रुपमा परिवर्तनशील तत्कालिन परिस्थितिको समीक्षा र कार्ययोजना बनाउदै हामी आगाडी बढेका थियौं । यसैबीच चाहे त्यो महिला सशक्तिकरणको अन्तर्राष्ट्रिय सेमिनार होस् अथवा केही सहजताको सदुपयोग गर्दै एनआरएनए यूकेले संचालन गरेको बाल चित्रकला प्रतियोगिताको पुस्तिका प्रकाशन जस्तो ऐतिहासिक कार्यले पूर्णता पाएको छ । मैले अगाडि नै भने जस्तो यो आलेखमा सबै गतिविधीहरुको सुची प्रस्तुत नगरिएकोले चाहे त्यो बाढी पिडित सहयोगार्थ चालिएको कदम होस् अथवा अन्य सबै समावेश गर्न नसकिएको हो ।

नेपाल दुख्दा हामी सबैलाई दुख्छ । भारतीय सिमा अतिक्रमणको विरोधमा बेलायतको सिंगो नेपाली समुदायलाई प्रतिनिधित्व गर्दै लन्डनस्थित भारतीय हाई कमिसनमा विरोध प्रदर्शन गर्नेदेखि हुलाकमार्फत विरोध पत्र सम्प्रेषण गर्ने सम्मको कार्यमा एनआरएनए यूके अग्रमोर्चामा थियो र आवश्यकताको बेला भविष्यमा पनि रहने छ । प्यारो मातृभूमि नेपालमाथि छिमेकी अथवा बाह्य देशबाट गिद्दे दृष्टी लागेको बेला अन्तराष्ट्रिय रुपमा दवाव सृजना गर्ने हिसाबले पनि यस्ता कार्यक्रमको महत्व रहन्छ नै । चाहे नेपालमा आइपर्ने प्राकृतिक विपत्तिहरु हुन अथवा देशले झेलेको अन्य कुनै समस्या होस्, अन्तर्राष्ट्रिय स्तरबाट पहिलो पंक्तिमै देशको लागि उभिन प्रवासी नेपालीहरुलाई उत्प्रेरित गर्ने र यसको नेतृत्व गर्ने कार्य एनआरएनएबाट हुदै आएको छ र यसको निरन्तरतालाई अझै प्रभावकारी बनाउदै लैजानुपर्दछ ।

एनआरएनएले उठाउदै आएको नागरिकताको मुद्दालाई तार्किक निष्कर्षमा पुर्याउनको लागि एनआरएनए यूकेको महत्वपूर्ण जिम्मेवारी रहन्छ । प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्दै कानून निर्माणमा आइपर्न सक्ने सम्भावित अव्यवहारिकतालाई हटाउन नेपाल सरकारसंग रस्साकस्सी गर्ने बेला यही नै हो । यसको लागि आईसीसीलाई दबाब सृजना गर्नेदेखि आवश्यक परे आफै मैदानमा उत्रिन एनआरएनए यूके तयार रहेको छ र यसमा आवश्यक गृहकार्य भइरहेको छ ।

त्यसैगरी, एनआरएनए यूकेको संस्थागत संरचना बलियो रुपमा निर्माण गर्न नसकेसम्म यो संस्थाको दिशानिर्देश सधै अन्यौलतामा अल्झिरहन्छ । यसको लागि प्रचारमुखी कार्यक्रम गर्नेभन्दा पनि संस्थाको विधि विधानको व्यवहारिक संसोधन र हेरफेर आवश्यक छ । यसैबीचमा अन्य विभागहरुको सक्रियताको अलावा महत्वपूर्ण रुपमा विधान समितिले पूर्णता पाईसकेको छ र वर्तमान विधानको अध्ययन र परिवर्तनका बुँदाहरुमा छलफलको सृजना भइसकेको जानकारी दिन चाहन्छु ।

एनआरएनएले झेल्दै आएको विभिन्न आरोह-अवरोहलाई हेर्ने हो भने अन्त्वतोगत्वा यसको सदस्यता व्यवस्थापनदेखि निर्वाचन प्रणाली सम्म सुधार नभए सम्म यो अस्वथा यथावत रहिरहन्छ । तसर्थ संस्थागत संरचनाको मजवुतीको लागि यस क्षेत्रमा कार्यारम्भ गर्नुपर्ने भएको छ । समयसंगै आवश्यक बहस र छलफल चलाउदै जाने क्रममा समग्र बेलायतवासी नेपालीहरुको सल्लाह,सुझाव लाई मनन गरेर एनआरएनए यूकेले आफ्नो दिशानिर्देश तय गर्नेछ भन्ने पनि जानकारी दिन चाहन्छु ।

कुनैपनि संस्था अफैमा चलायमान गतिमा अगाडी बढिरहनु आवश्यक हुन्छ । त्यसमाथि एनआरएनए जस्तो संस्थाको भविष्य विगतले सिकाएका पाठहरूलाई शिरोपर गर्दै दुर क्षितिजको उज्यालो ताकेर आफ्नो यात्रा तय गर्नुपर्दछ ।
हामीले बेलायतको नेपाली समुदायमा धेरै काम गर्न सक्ने वातावरणको सृजना गर्न आवश्यक छ । संघ-संस्थाहरुसंगको सहकार्य हाम्रा सन्तान, दर सन्तानलाई नेपाल र नेपाली समुदायसंग जोडी राख्ने कसिहरुमा केन्द्रित रहनु पनि हाम्रो दायित्व हो । नेपाली भाषा, साहित्य, खेलकुद ,गोर्खा, वृद्दवृद्दा महिला लगायतका सवालमा पनि एनआरएनए यूके क्रियाशील रहदै आएको छ र समय संगै विषमता आउने सहजताको अनुभूतिमा आफ्नो थप क्रियाशीलता देखाउने नै छ भन्ने प्रतिवद्दता पनि व्यक्त गर्न चाहन्छु ।

विगतको अवस्थामा सृजना भएको आरोप प्रत्यारोप र पूर्वाग्रहका खाडलका प्वालहरु र आंधीका बाछिटाहरु आजको दिनसम्म पनि यदाकदा देखिने गरेका छन् । एउटा बृहत संस्थाको जिम्मेवार पदमा रहिरहँदा हामीलाई सत्मार्गमा हिडन सचेत गराउने सुझाव र आलोचना समेतलाई सहर्ष स्वीकार गर्दै अगाडी बढदै गर्दा घृणा, द्वेष र घोर निन्दामा उत्रिने सीमित तहको भ्रामक दुस्प्रचारलाई भने वेवास्ता गर्दै अविछिन्न रुपमा यो कार्यसमिति क्रियाशील रहेको कुराको पनि जानकारी दिन चाहन्छु । विरोधका लागि विरोध र जे कुराको पनि खोट निकालेर दुस्प्रचार गर्ने प्रवृत्तिप्रति कुनै जवाफदेहिता आवश्यक छैन भन्ने मेरो निष्कर्षलाई पनि दोहोर्याउन चाहन्छु । यसो भनिरहँदा हामीबाट भएका र हुन सक्ने गल्ति कमजोरीहरु अमुल्य रुपमा औल्याएर सत्मार्गमा डोर्याउने आम समुदायप्रति मेरो सदा सर्वदा सम्मान रहेको कुरा पनि संगै उल्लेख गर्न चाहन्छु ।

यसैबीच सम्पूर्ण कार्यसमितिका साथीहरुलाई आम समुदायमाझ आफुले प्रस्तुत गरेका प्रतिवाद्धताको समिक्षा गर्नु पर्ने कुराको पनि स्मरण गराउन चाहन्छु । आफ्नो धेरै कुरा त्याग गरेर सामाजिक कार्यमा लाग्नु सोचे र देखे जस्तो सहज नभएर निकै चुनौतिपूर्ण भएको कुरा सर्वस्वीकार्य नै हो । तर त्यही दायित्व निर्वाह गर्ने प्रतिवद्दताको साथ् मैदानमा उत्रिएपछि अनवरत रुपमा समर्पित भएर लाग्नु हाम्रो कर्तव्य हो । एनआरएनए यूके मातहतका सम्पूर्ण साथीहरुलाई अविचलित रुपमा बिना कुनै पूर्वाग्रह आफ्नो कर्तव्यपथमा लाग्नु हुन पनि म सादर अनुरोध गर्दछु ।

साथै, हामीलाई अहिलेको जिम्मेवारी सुम्पिनुभएको वार्षिकीको यो अवसरमा बेलायतको आम नेपाली समुदायलाई पुन हार्दिक आभार प्रकट गर्न चाहन्छु । मैले यति भनिरहँदा हामीले गर्नुपर्ने जति सबै गरेका छौँ भन्ने दावी कदापी गर्न खोजेको होइन । धेरै कुरा गर्नुपर्ने छ जसमा हामी प्रयत्नरत छौ । के कति सकिन्छ, त्यो समयको गर्भमा अन्तर्निहित रहने नै छ ।

र अन्त्यमा, एनआरएन यूकेको महासचिवको रुपमा मेरा क्रियाहरुको समिक्षा गर्ने र कमीकमजोरीहरु औल्याउने जिम्मेवारी तपाईहरु स्वयंमा टक्रयाउंदै तपाईहरुको अमुल्य सल्लाह र सुझाव मेरो लागि सदैव अत्यन्तै उपयोगी रहनेछन् भन्न चाहन्छु । जय एनआरएनए !
२१ सेप्टेम्बर २०२०

(लेखक एनआरएनए यूके वर्तमान कार्यसमितिका महासचिव हुन् ।)

error: Content is protected !!
Back To Top