skip to Main Content
कोरोना राहत कोषमा सहयोगको लागि हार्दिक अपिल

आदरणीय बेलायतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु !
सर्वप्रथम कोरोना संक्रमणको वर्तमान भयावह परिस्थितिमा यहाँहरु सबैको सुस्वास्थ्य र कुशलताको कामना गर्दछौ । कोरोना संक्रमणको कारण संसार आक्रान्त बनिरेहेको अवस्थामा बेलायतमा पनि यसको प्रभाव दिनानुदिन बढ्दो छ । कोरोना भाइरसको संक्रमणबाट यहाँस्थित हाम्रो नेपाली समुदाय पनि प्रभावित बन्दै गईरहेको छ । अत्यन्तै दुखद रुपमा हाम्रो समुदायका कयौं व्यक्तिहरुले समेत ज्यान गुमाउनु परेको छ । हामी यो अवस्थामा मृतकहरुप्रति श्रद्दान्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछौ ।
कोरोना संक्रमणबाट उपचाररत हाम्रा दाजुभाई दिदीबहिनीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अहिलेको विषम अवस्थामा सबैजना सुरक्षित रहनुहुन समेत सादर अनुरोध गर्दछौ ।
गैरआवासीय नेपाली संघ ( एनआरएनए ) यूकेले यो कठिन परिस्थितिमा सामुदायिक हितको लागि सूचना, सचेतना तथा स्वास्थ्य परामर्शका विभिन्न गतिविधीहरु सञ्चालन गर्दै आईरहेको कुरामा हजुरहरु जानकार नै हुनुहुन्छ । हाम्रो यो अभियानलाई अझै प्रभावकारी र परिस्कृत बनाउनको लागि हजुरहरुको सल्लाह, सुझाव र सहयोगको सदैव अपेक्षा गर्दछौ ।
कोरोना संक्रमणको कारण तत्कालिन र दिर्घकालिन रुपमा हाम्रो समुदायका विद्यार्थी, वृद्धवृद्धा, अशक्त आदिलाई भौतिक, आर्थिक सहयोग लगायत दुखद मृत्युसम्मको अवस्थामा आवश्यकताअनुसार आर्थिक सहयोग समेत गर्नुपर्ने अवस्था सृजना भइसकेको र भविष्यमा झनै हुने कुरा निश्चित छ । यो कुरालाई मध्यनजर गर्दै कोरोना राहत कोषको स्थापना गरेर अत्यावश्यक ठाउँमा आर्थिक राहत उपलब्ध गराउनको लागि एनआरएन यूकेले आम जनसमुदायबाट आर्थिक सहयोग संकलन गर्ने निर्णय गरेको छ ।

तसर्थ सम्पूर्ण बेलायतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई एनआरएनए यूकेले शुरु गरेको आर्थिक सहयोग अभियानमा सक्दो योगदान गर्नुहुन सादर अनुरोध गर्दछौ ।
कोरोना राहत कोषबाट संकलित रकमको व्यवस्थापन र वितरणको सम्पूर्ण प्रक्रिया र मापदण्ड तय गरेर एनआरएन यूकेले ’कोभिड १९ उद्दार तथा राहत कोष संकलन तथा परिचालन कार्यविधि’ जारी गरेको छ । यस सबै गतिविधी सोही कार्यविधि अनुरुप निर्देशित भएर खर्च गरिने व्यहोरा समेत जानकारी गराउँदै यसलाई पूर्ण पारदर्शी बनाउने प्रतिवद्धता समेत व्यक्त गर्दछौ ।

यसर्थ यस मानवीय कार्यको लागि संस्थागत तथा व्यक्तिगत रुपबाट समेत सक्दो सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछौ । सेवा नै धर्म हो ! धन्यवाद ।
सहयोगको लागि :

पुनम गुरुङ          तेजेन्द्र रोका               दिपक श्रेष्ठ                                  फडिन्द्र भट्टराई
अध्यक्ष              कोषाध्यक्ष         कोभिड -१९ सहयोग संयोजक                 महासचिव

मिति : १४ अप्रिल २०२०

 

error: Content is protected !!
Back To Top