एनआरएन डे को अवसरमा गैरआवासीय नेपाली संघ बेलायतले सल्लाहकारहरु संग एक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
एनआरएनए यूकेको नवौं कार्यसमितीले कार्यभार सम्हालेको एक बर्ष पुगेको परिप्रेक्षमा संघको बार्षिक गतिविधीको जानकारी दिने तथा सल्लाहकारहरुको राय सल्लाह र प्रतिक्रिया लिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।
जुम मार्फत भएको छलफलको शुरुवातमा बार्षिक गतिविधीको प्रतिवेदन महासचिव बाट प्रस्तुत गरिएको थियो । त्यसैगरी कोषाध्यक्ष तेजेन्द्र रोका मगरले आफुले कार्यभार ग्रहण गरेपछिको आर्थिक विवरण प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा उपस्थित सल्लाहकारहरुलाई स्वागत गर्दै अध्यक्ष पुनम गुरुङले गत बर्षमा कार्यसमितीले यथाशक्य कार्यसम्पादन गरेको र बाँकी समयमा एनआरएन यूकेका सल्लाहकार, अग्रज अगुवा तथा अभियान्ताको सल्लाह सुझाव अनुसार काम गर्दै जाने बताउनु भयो ।
कार्यक्रममा सहभागी सल्लाहकारहरुले विगत एक वर्षको समयमा कार्यसमितीले सकारात्मक शुरुआत गरेको र बाँकी दिनमा अझै सुधारोन्मुख कार्यहरु गर्नुपर्ने धारणा व्यक्त गर्नु भएको थियो । झन्डै ५ घण्टा भन्दा बढी चलेको छलफलमा नागरिकता , गोर्खा लगायतका बेलायतवासी नेपालीहरुको चासो र सरोकारका विषयहरुलाई समेटेर अगाडी बढन सुझाव दिईएको थियो ।
कार्यक्रममा बोल्दै सल्लाहकारहरुले कोषाध्यक्षको प्रतिवेदनले यो कार्यसमितीको आर्थिक पारदर्शितालाई दर्शाएको र विगत कार्यकालको सवालमा उठेका प्रश्नहरुको समाधानको लागि गठित जाँचबुझ समितीको प्रतिवेदन यथाशक्य छिटो सार्वजनिक गर्न सुझाव दिनु भएको थियो । यस सम्बन्धमा मेडियामा देखिएका अभिव्यक्तिहरु प्रति दुख व्यक्त गर्दै सल्लाहकारहरुले संघ भित्रका विमतिहरुलाई संघ भित्रै समाधान गर्न सुझाव दिनु भएको थियो । कार्यक्रममा बोल्दै अधिकांश सल्लाहकारहरुले कतिपय मिडियामा देखिने गरेका एनआरएन सम्वद्द सामाग्रीहरु पूर्वाग्रह प्रेरित भएकोले यसले मेडिया प्रतिको विश्वनीयतामा ह्रास आएको भन्दै चिन्ता र चासो व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा विगत कार्यकालको आर्थिक गतिविधीको जाँचबुझ गर्न गठित समितीका संयोजक तथा सल्लाहकार एल एन पाण्डेले समितीले आफ्नो काम शुरु गरिसकेको र यसमा सबैको सहयोगको अपेक्षा गरेको बताउनु भएको थियो ।
कार्यक्रमको अध्यक्षता एनआरएन यूकेकी अध्यक्ष पुनम गुरुङले गर्नु भएको थियो । कार्यक्रममा एनआरएन यूकेका प्रमुख पदाधिकारी सहित केही आईसीसी सदस्यहरुको समेत उपस्थिती रहेको थियो । कार्यक्रममा कुल ८२ सहभागिताथियो ।