skip to Main Content
एनआरएनए युकेको पाँचौं काउन्सिल बैठकबाट ११ बुँदे ‘अल्डरसट घोषणा पत्र’ जारी [घोषणापत्रसहित]

गैरआवासीय नेपाली संघ युकेको विधान अनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको पाँचौं राष्ट्रिय परिषदको बैठक गत २९ सेप्टेम्बर शनिबारका दिन अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न भएको हो । करिब १०० संघ संस्थाका प्रतिनिधिहरु, समाजका अग्रज व्यक्तित्वहरु, एनआरएनए आईसीसीका पदाधिकारी र सदस्यलगायतको उपस्थितिमा सम्पन्न बैठकमा विभिन्न विषयहरुमा गम्भीर छलफल गरी ११ बुँदे अल्डरसट घोषणा पत्र जारी गरेको छ ।

भूतपूर्व गोर्खा अधिकार र नेपाली नागरिकताको निरन्तरताबारे व्यापक छलफल भएको बैठकमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले भूतपूर्व गोर्खा र नागरिकताको मुद्दा सकारात्मक रुपमा अघि बढिरहेको बताए । उनले एनआरएनए युकेले गर्दै आएका विभिन्न रचनात्मक कार्यहरुको प्रशंसा गर्दै एनआरएनए युकेले नेपालको आर्थिक तथा सामाजिक विकासका लागि दूतावाससँग सहकार्य गर्दै अघि बढिरहेको जनाए ।

कार्यक्रममा कार्यक्रम संयोजक एवं एनआरएनए युकेकी उपाध्यक्ष पुनम गुरुङले स्वागत मन्तव्य दिएकी थिइन् । कार्यक्रममा एनआरएनए आईसीसी सल्लाहकार डा. हेमराज शर्मा, सुरेन्द्र श्रेष्ठ, आईसीसी उपाध्यक्ष कुमार पन्त, कुल आचार्य, युरोप क्षेत्रीय महिला उपसंयोजक संगीता मरहट्टा, एनआरएनए युकेका प्रमुख संरक्षक मेजर (रि) डमर घले, संरक्षक एवं पूर्वअध्यक्ष सूर्य गुरुङ, योगेन क्षेत्री, एनआरएनए युकेका उपाध्यक्ष प्रेम गाहामगर, शेरबहादुर सुनार, सुशिला राई, कोषाध्यक्ष सचिन श्रेष्ठ, प्रवक्ता रमेश सराङ्गकोटीलगायतले गैरआवासीय संघको वर्तमान अवस्था र भावी योजनाहरुबारे बोलेका थिए ।

एनआरएनए युकेका महासचिव राजकुमार त्रिपाठीले औपचारिक कार्यक्रम सञ्चालन गरेको बैठकमा एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामीले एनआरएनए युकेले गरेका विभिन्न कार्यहरु बारेमा बोलेका थिए ।
त्यस्तै, कार्यक्रममा नेपाली कला, संस्कृति, खेलकुद र साहित्यमा विशेष योगदान दिएका संघसंस्था तथा व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

एनआरएनए युकेका सल्लाहकार रोहित गुरुङ र जीव बेल्वासेले काउन्सिल बैठक सञ्चालन गरेका थिए । विभिन्न विषय र क्षेत्रमा रहेका समूहले छलफल गर्दै आ–आप्mनो सुझावहरु पेस गरेका थिए । सोही सुझावहरुको आधारमा ११ बुँदे अल्डरसट घोषणा पत्र जारी गरिएको थियो ।

गैरआवासीय नेपाली संघ युके पाँचौँ काउन्सिल बैठक २०१८ घोषणापत्र, अल्डरसट, बेलायत
गैरआवासीय नेपाली संघ युकेको विधान अनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको पाँचौं राष्ट्रिय परिषदको बैठक आज मिति सेप्टेम्बर २९, २०१८ शनिबारका दिन अल्डरसट, बेलायतमा बस्यो । बेलायतमा रहेका करिब १०० संघ संस्थाका प्रतिनिधिहरु, समाजका अग्रज व्यक्तित्वहरु, गैरआवासीय नेपाली संघका अन्तर्राष्ट्रिय समन्वय समिति र राष्ट्रिय समन्वय समितिका पदाधिकारी र सदस्यहरु लगायतको उपस्थितिमा भएको सो बैठकमा विभिन्न विषयहरुमा गम्भीर छलफल गरी गहन सुझावहरु प्रस्तुत भयो । यसरी प्राप्त सुझावहरुलाई आधार बनाइ यो काउन्सिल बैठक अल्डरसट घोषणा पत्र २०१८ जारी गर्दछ ।

१. ‘एकपटकको नेपाली सधैँको नेपाली’ भन्ने मूलभावना अनुसार एनआरएनए युकेले नेपाल सरकारलाई हालै बुझाएको ज्ञापनपत्रलाई आधार बनाइ गैरआवासीय नेपालीको नागरिकताको सुनिश्चितता गरिदिन यो बैठक नेपाल सरकारसमक्ष माग गर्दछ । गोरखाहरुको अवस्था फरक भएको हुँदा उनीहरुको नागरिकताको सवाललाई फरक ढंगले सम्बोधन गर्न पनि यो बैठक सरकारसमक्ष माग गर्दछ ।

२. गोरखाको समस्या गोरखाहरुको मात्र नभई राष्ट्रिय महत्वको सवाल भएकाले यथाशीघ्र समाधानका लागि नेपाल सरकार र बेलायत सरकारलाई सशक्त पहल गर्न यो बैठक माग गर्दछ । गोरखाहरुको सवालप्रति ऐक्यवद्धता र गोरखाको आन्दोलनलाई हरतरहले सहयोग गर्ने वचनवद्धता यो बैठक व्यक्त गर्दछ । गोरखाहरुले वंशजका आधार प्राप्त गरेको नेपाली नागरिकता निरन्तर कायम रहनुपर्ने र उनीहरुका सन्ततिहरुले पनि सो अधिकार पाउनुपर्ने माग नेपाल सरकारसमक्ष गर्दछ ।

३. नेपालमा लगानीको सम्भावनाका बारेमा छलफल गर्न विभिन्न कार्यशाला आयोजना गर्न यो बैठक एनआरएन युकेलाई सुझाव दिन्छ । साथै, नेपाल सरकारको ‘सम्बृद्ध नेपाल सुखी नेपाली’ राष्ट्रिय अभियानलाई गैरआवासीय नेपालीका तर्फबाट सहयोग गर्न एनआरएनए युके ‘एक एनसिसी एक परियोजना’को अवधारणा गैरआवासीय नेपालीहरुसमक्ष प्रस्तुत गर्दछ ।

४. विदेशमा आर्जन गरेका सीपलाई नेपालमा स्थानान्तरण गर्नका लागि विदेशमा कार्यरत दक्ष जनशक्तिलाई नेपाल फर्काउने कार्यक्रम ल्याउन यो बैठक नेपाल सरकारसमक्ष माग गर्दछ । त्यस्तो कार्यक्रम ल्याउन नेपाल सरकारलाई दबाब दिन र युकेमा रहेका दक्ष जनशक्तिको तथ्यांक संकलन गर्न बैठक एनआरएनए युकेलाई सुझाव दिन्छ ।

५. सन् २०२१ मा बेलायतमा हुन गइरहेको राष्ट्रिय जनगणनामा प्रयोग गरिने विवरणमा नेपाली समुदायका लागि ‘नेपाली महल’ राखिदिन माग गर्दै बेलायती प्रधानमन्त्रीलाई पत्र लेख्ने निर्णय यो बैठक गर्दछ । साथै, बेलायतमा संचालनमा रहेको युनिभर्सल क्रेडिट योजनाका बारेमा नेपाली समुदायलाई जानकारी दिलाउन सचेतनामूलक कार्यक्रम ल्याउन यो बैठक एनआरएनए युकेलाई अनुरोध गर्दछ ।

६. बेलायतमा नेपालीहरुको नेपालीपन झल्कने साझा घरको अपरिहार्यता बैठकमा एकमतले महसुस गरियो । नेपाल हाउस बिज्नेस मोडलमा निर्माण गर्ने विगतको काउन्सिल बैठकको निर्णयलाई निरन्तरता दिँदै नेपाल हाउस परियोजनालाई थप बृहत स्तरमा अगाडि बढाउन यो बैठक एनआरएन युकेलाई आग्रह गर्दछ ।

७. युकेबाट च्यारिटीमार्फत नेपालमा भइरहेको सहयोगलाई अझै सशक्त बनाउने प्रतिवद्धता यो बैठक व्यक्त गर्दछ । युकेमा रहेका व्यक्ति तथा संघ संस्थालाई एनआरएनए युकेमार्फत च्यारिटी कार्यक्रम संचालन गर्न वा त्यसो हुन नसकेमा गरिएको च्यारिटी कार्यको विवरण एनआरएन युकेमा उपलब्ध गराउन यो बैठक युकेमा कार्यरत सबै व्यक्ति तथा संघसंस्थालाई हार्दिक अनुरोध गर्दछ ।

८. युकेमा बसोबासरत नेपाली युवाहरुलाई एनआरएनएप्रति आकर्षण जगाउन, उनीहरुले सिकेका सीपलाई नेपालमा स्थानान्तरण गर्न र उनीहरुको सर्वाङ्गीण विकासका लागि एनआरएनए युकेको युवा विभागलाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता यो बैठक व्यक्त गर्दछ ।

९. नेपालमा महिला तथा बालबालिकाहरुमाथि भइरहेको हिंसाप्रति यो बैठक गम्भीर चिन्ता व्यक्त गर्दछ । त्यस्ता घटनाहरुको छानविन गरी दोषीमाथि कडा कारबाही गर्न बैठक माग गर्दछ । बेलायतमा बसोबासरत महिला, बालबालिका र ज्येष्ठ नागरिकहरुले भोग्नु परिरहेको समस्या समाधानका लागि जनचेतनामूलक कार्यक्रम गर्न एनआरएनए युकेलाई सुझाव दिन चाहन्छ ।

१०. एनआरएनए युकेको राज्यव्यवस्था समितिको संयोजक एनआरएनए युकेको पदेन सदस्य हुने, विभागीय प्रमुखहरु उपाध्यक्ष हुने, एनआरएनए युकेका पूर्व अध्यक्षहरु संरक्षक रहने, सल्लाहकार छनौटमा योग्यता एवं संस्थागत अभियन्तालाई मापदण्ड बनाउने, क्षेत्रीय रुपमा गठन भएका समितिहरु एनआरएनए युके केन्द्रको नियम बमोजिम संचालन हुने गरी विधान संशोधन गर्न यो बैठक एनआरएनए युकेलाई सुझाव दिन चाहन्छ ।

११. गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको पाँचौँ काउन्सिल बैठकमा प्रमुख अतिथिको आतिथ्यता ग्रहण गरिदिनुभएकोमा बेलायतका लागि नेपालका राजदुत डा. दुर्गाबहादुर सुवेदी, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका उपाध्यक्षहरु कुमार पन्त र कुल आचार्य, अन्तर्राष्ट्रिय समन्वय समितिका सल्लाहकारहरु, एनआरएनए युकेका प्रमुख संरक्षक डमर घले र संरक्षकहरु, एनआरएनए युकेका सल्लाहकारहरु, सबै संघ संस्थाका प्रतिनिधिहरु, स्पोन्सरहरु लगायत यो काउन्सिल बैठक सम्पन्न गर्न सहयोग पुर्‍याउनुहुने सबैलाई यो बैठक हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
घोषणापत्र तयारी समिति
संयोजक, नरेश खपाङ्गीमगर
सदस्य रमेश सराङकोटी
सदस्य नवीन पोखरेल
सदस्य पूर्ण गुरुङ
सदस्य ध्रुवराज अर्याल

error: Content is protected !!
Back To Top